• शनिबार, साउन ९ २०८३

रोटरी क्लब अफ गोरखाको २२ औं पदस्थापना, यस्ता छन् अध्यक्ष बस्नेतका योजना


शनिबार, साउन २६ २०८१
2.5K
Shares

गोरखा । रोटरी क्लब अफ गोरखाको २२ औं पदस्थापना सम्पन्न भएको छ । आज शनिबार सदरमुकाममा भएको एक कार्यक्रमका वीच रोटरी बर्ष २०२४/२५ का लागि विनोद कुमार बस्नेत नेतृत्वको कमिटीको पदस्थापना सम्पन्न भएको हो । बर्ष २०२३/२४ का अध्यक्ष ज्ञानहरी अर्यालले २०२४/२५ का लागि अध्यक्षमा चयन भएका बस्नेतलाई पद हस्तान्तरण गरेका हुन् ।

रोटरी क्लबका डिजिई विनोद कोइरालाको प्रमुख आतिथ्यतामा भएको पदस्थापना कार्यक्रममा अध्यक्ष बस्नेतसहित पदाधिकारी र सदस्यहरुको समेत पदस्थापना गराइएको छ । जसमा प्रेसिडेण्ट इलेक्टमा रामस्वरुप श्रेष्ठ, प्रेसिडेण्ट नोमिनीमा रामहरी केसी, उपाध्यक्षमा सित्तलकाजी श्रेष्ठ, सचिवमा काजीराम श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र कुवँर र सहसचिवमा पुष्कल अर्यालको पदस्थापना सम्पन्न भएको हो ।

त्यस्तै पि टिआरएफ चेयरमा कृष्ण प्रसाद ढकाल, एमजी चियर नकुल थापा, सर्भिस प्रोजेक्ट चियर आनन्द गुरुङ (काजी), पब्लिक इमेज चियर बद्रि पोखरेल, क्लब एडमिन चियर कमल पोखरेल, सर्जेण्ट अफ आर्म कृष्ण ढकाल तथा क्लब ट्रेनर पवन रमण खनालको समेत पदस्थापना गरिएको छ । उनिहरुलाई अध्यक्ष बस्नेतले सपथ खुवाएका हुन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष ज्ञानहरी अर्यालले २०२३/२४ मा सम्पन्न गरेका कार्यप्रगती विवरण प्रस्तुत गरेका थिए । त्यस्तै वर्तमान अध्यक्ष बस्नेतले समेत आफ्नो कार्यकालमा सञ्चालन गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए ।

उनले शिक्षा, स्वास्थ्य, सरसफाई, जिविकोपार्जन लगायतका क्षेत्रमा बिभिन्न गतिविधिी सञ्चालन गर्ने कार्ययोजना सुनाएका थिए । जसमा दन्तशिविर, मुटुपरिक्षण शिविर, पदयात्रा कार्यक्रम, वृक्षारोपण, क्षमता विकास कार्यक्रम, ट्राफिक सचेतना कार्यक्रम, कुलत तथा दुव्र्यसनी विरुद्धको अभियान, अपांगता भएका नागरिकलाई ह्विलचियर वितरण, वतृत्वकला, चित्रकला प्रतियोगिता, क्यान्सर स्किृनिङ कार्यक्रम, आइसिटी ट्रेनिङ लगायत अन्य फेलोसिपका कार्यक्रमहरु सञ्चालन गर्ने योजना अध्यक्ष बस्नेतले अघि सारेका हुन् ।

कार्यक्रम सञ्चालन गर्न बिभिन्न समिति, उपसमिति गठन गरेर  ब्यवस्थित गरिने समेत उनले बताए । साथै उनले कार्ययोजना सफल बनाउन तिनै तहका सरकारी निकाय, बिभिन्न सामाजिक संघसंसथा, नीजि क्षेत्र लगायतसंग सहकार्य, समन्वय गरी अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी डिजिई कोइरालासहित, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना मगर, क्लबका एजी विश्व कर्माचार्य, डिष्ट्रिक्ट अफिसर पवनरमण खनाल, संस्थापक अध्यक्ष सित्तलकाजी मास्के, रोटरी क्लब अफ दमौलीका अध्यक्ष जिवनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक विशाल राना मगर, नेपाल पत्रकार महासंघ गोरखाका कोषाध्यक्ष मोहसिन अलि मियाँ लगायतले मन्तब्य राखेका थिए ।

पदस्थापनाकै अवसरमा क्लबले प्रदिप कुवँरलाई सदस्यता प्रदान गरेको छ । कुवँर गोरखा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार