सत्ता सहकार्यका लागि संसद्का दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच मध्यराति सहमति जुटेसँगै दुवै दलले राष्ट्रिय मुद्दामा एक ठाउँ उभिने सन्देश दिएका छन्।
दुई दलले सोमबार मध्यरातमा सहमति गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने निर्णय गरेका हुन् । ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पालौपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो ।
प्रतिनिधिसभा निर्वाचनको डेढ वर्षमा चारपटक गठबन्धन फेरबदल गर्न सक्रिय दलहरू केही दिनयता राष्ट्रिय सहमतिको नाममा सत्ता सहकार्यमा जुटेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच भएको सहमतिको औपचारिक दस्तावेज सार्वजनिक गरिएको छैन । यद्यपि, दुई दलबीच संविधान संशोधनसहितका राष्ट्रिय मुद्दामा एक ठाउँ उभिने निर्णय भएको नेताहरूले दाबी गरेका छन्।