• शुक्रबार, साउन ८ २०८३

यस बर्ष हज जाने १३ जना गोर्खाली हजयात्रीको बिदाई गरियो


आइतबार, बैशाख २३ २०८१
2.8K
Shares

गोरखा । यस बर्ष गोरखा जिल्लाबाट हज यात्रामा जान लागेका हजयात्रीहरुको बिदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले एक कार्यक्रमको आयोजना गरि हज यात्रामा जान लागेका १३ जना हजयात्रीहरुको आइतवार बिदाई गरेको हो ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले हजयात्रीहरुलाई विदाई गरेका हुन् । जिल्लाबाट यसबर्ष ७ महिला र ६ जना पुरुष गरी १३ जना हजयात्रामा जान लागेका हुन् ।

गोरखा नगरपालिकाका ११ र भिमसेन थापा गाउँपालिका ६ का २ जना रहेका छन् । जसमा रहमतुल्ला मियाँ, शुरिला मियाँ, महिबुब मियाँ, सरिफा मियाँ, सम्मदिन मियाँ, सानू बिबि मियाँ, पुनरबकस मियाँ, रजिया बिबि, पिर बकस मियाँ, हाजरी बिबि खुर्सिदा बिबि, अहमदिन मियाँ र हनिफा विवि रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

हजयात्राका क्रममा गरिने सबै कृयाकलापहरु पूरा गरेपछि अहिलेसम्म जान अन्जानमा भएका सबै किसिमका पापबाट मुक्ति पाईन्छ भन्ने इस्लाम धर्मालम्बीहरुमा बिश्वास रहदै रहेको धर्म गुरु मौलाना बसीर मियाँले बताए । नेपालबाट गएका हजयात्रीहरु ४५ दिनसम्म मक्का मदीनामा हजका कृयाकलापमा सहभागी हुने प्रचलन छ ।

‘‘जिल्ला प्रसासन कार्यालयले गोरखाका हजयात्रीलाई स–सम्मान बिदाइ गरेर देशमा धार्मिक सहिष्णुताको अनुपम उदाहरण दिएको छ, हजयात्रामा जान लागेका गोरखा नगरपालिका २ का वडाध्यक्ष समेत रहेका रहमतुल्ला मियाँले भने, ‘‘यसबाट हामीलाई हौसला पनि मिलेको छ ।’’

यस बर्ष गृह मन्त्रालय अन्तरगत रहेको हज समितिले प्रत्येक हजयात्रीसंग ४ लाख १५ हजार रुपैयाका दरले शुल्क संकलन गरिसकेको छ । यसबाट नेपालबाट साउदीसम्म जाने आउने प्लेन भाडा, मेडिकल फि, खान बस्नसहितको होटल ब्यवस्थापन, मक्का महिदनामा स्थानीय यातायात, तथा साउदी सरकारलाई हज वापत बुझाउनु पर्ने शुल्क लगायतमा खर्च हुने गर्दछ ।

इस्लाम धर्ममा आर्थिक र शारिरिक रुपमा सवललाई मात्रै हज अनिवार्य गरिएको छ । हज सम्पन्न गरेपछि पुरुषलाई हाजी तथा महिलालाई हज्जिन शब्दले सम्बोधन गर्ने यस समुदायमा प्रचलन रहेको छ ।

अरबिक पात्रो हिजारी सम्वतको बाह्रौ महिना ‘जिल हिज्जा’को अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हज गर्ने प्रचलन रहदै आएको छ । यस बर्ष नेपालबाट करिब ७ सय ५० जना नेपाली हजका लागि साउदी जाँदैछन् ।

जेठ २ गते पहिलो उडान मार्फत गोरखाका हजयात्री मक्का पुग्ने र असार १५ गते मदिनाबाट नेपाल फर्कने तालिका हज समितिले सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी दाहालको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, नेपाल पत्रकार महास‌ंघका कार्यवहाक अध्यक्ष नरेन्द्र ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार