लमजुङ । डिभिजन वन कार्यालय लमजुङले सञ्चालन गरेका योजना तथा सेवा प्रवाहका बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बैशाख १६ गते आइतबार बेशिसहर नगरपालिका ७ को मनाङेचौतारामा कार्यालयले आर्थिक बर्ष २०७९/८० मा सम्पन्न गरेका कार्यक्रम, योजना तथा सेवाप्रवाहका बारे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख दिपक प्रसाद पण्डितको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
नागरिक समाज सञ्चार नेटवर्कको सहजीकरणमा भएको कार्यक्रममा डिभिजन वन कार्यालय लमजुङको सेवा प्रवाह र सञ्चालित कार्यक्रमप्रति सेवाग्राहीको सन्तुष्टिको मापन सहित गरिएको नागरिक प्रतिवेदन तथा बहिर्गमन प्रतिवेदनको नतिजा सार्वजनिक गरिएको थियो ।
करिब ६० जना सेवाग्राहीसंग गरिएको नमुना सर्वेक्षणमा २८ प्रतिशतले कार्यालयको सेवाप्रति सन्तुष्ट रहेको बताएका छन् । त्यस्तै ७२ प्रतिशत सेवाग्राहीले भने कार्यालयको सेवा प्रवाहको अवस्था ठिकै अर्थात सन्तोषजनक रहेको जवाफ दिएका थिए । पत्रकार निरज अधिकारी नेतृत्वको टोलीद्धारा गरिएको अध्ययन अनुसन्धान तथा सर्वेक्षणको नतिजा नागरिक समाज सञ्चार नेटवर्कका कार्यक्रम अधिकृत समेत रहेका सिभिलखबर डटकमका प्रधानसम्पादक राजेन्द्र कोइरालाले सार्वजनिक गरेका हुन् ।
नमुना सर्वेक्षणका क्रममा नागरिक प्रतिवेदनका लागि हरेक सेवाग्राहीलाई ४६ वटा प्रश्न सोधिएको थियो । जसमा कार्यालयको सेवा प्रवाहको अवस्था, सेवाको सन्तुष्टि, सेवाको नियमितता, सेवाप्रतिको जनविश्वास, सेवाको गुणस्तर, सेवासम्बन्धि जानकारी, नागरिक बडापत्र, उजुरी पेटिका, गुनासो सुन्ने अधिकारीको सम्बन्धमा प्रश्नहरु तयार गरि सेवाग्राहीलाई सोधिएको प्रस्तुतकर्ता कोइरालाले कार्यक्रममा जानकारी गराए ।
त्यस्तै सेवाग्राहीसंग सिफारिस लिने, कार्यालयको भौतिक तथा सरसफाईको अवस्था, स्रोत साधन तथा सेवाको पारदर्शिता सम्बन्धमा नमुना सर्वेक्षण गरिएको उनले बताए । यसैगरी बहिर्गमन अभिमत संकलनका क्रममा कार्यालयप्रति नागरिकको मत समेत संकलन गरिएको थियो । जसमा सूचना, जानकारी, कर्मचारीको ब्यवहार, कार्यालयको सवल पक्ष तथा सुधार गर्नुपर्ने पक्षहरु समेत संकलन गरि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
त्यस्तै कार्यक्रममा डिभिजन वन कार्यालय लमजुङले आर्थिक बर्ष २०७९/८० मा सञ्चालन गरेका कार्यक्रम, योजना तथा सेवाप्रवाहको कार्यप्रगती प्रतिवेदन समेत सार्वजनिक गरेको थियो ।
कार्यालयका प्रमुख दिपक प्रसाद पण्डितले कार्यप्रगती विवरण प्रस्तुत गर्दै प्रदेश र संघको विकास कार्यक्रम ८१ प्रतिशत प्रगती हासिल गरेको जानकारी गराए । जसमा जडिबुटी विकास कार्यक्रम, वातावरण विभाग कार्यक्रम, राष्ट्रिय वन तथा वातावरण ब्यवस्थापन कार्यक्रम, वन तथा भूसंरक्षण लगायतका कार्यक्रमहरु सञ्चालित रहेको प्रमुख पण्डितले बताए ।
कार्यक्रममा बिभिन्न सामुदायिक वन, नीजि वनका प्रतिनिधी, विकासविद्, काष्ठ उद्योग ब्यवसायी, वन पैदावर व्यवासायी, वन उपभोक्ता, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले कार्यालयको सेवाप्रवाह, कार्यक्रम तथा योजनाहरुका बारे प्रश्न, जिज्ञासा, गुनासा तथा सुझाव ब्यक्त गरेका थिए । उनिहरुले बाँदरको आतंक, डढेलो, वन सम्बन्धि कानूनी अड्चन, योजनाको गुणस्तर, सेवाप्रवाह, स्रोतसाधन लगायतका बिषयमा गुनासा राखेका थिए ।
कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरुको सम्बोधन डिभिजन वन कार्यालयका प्रमुख पण्डितले दिएका थिए ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशका शाखा अधिकृत सन्दिप ढुंगाना, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारी, डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्तोष खनाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ गोरखाका कोषाध्यक्ष समेत रहेका नागरिक समाज सञ्चार नेटवर्कका कार्यकारी निर्देशक मोहसिन अलि मियाँँले गरेका थिए ।