काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गर्ने भएका छन्।
दुई दिने राजकीय भ्रमणका लागि आज मंगलबार बेलुका नेपाल आउन लागेका कतारी राजा थानीलाई राष्ट्रपति पौडेल नै विमानस्थल पुगेर स्वागत गर्न लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गर्ने छ । कतारका राजा बंगलादेशको ढाका हुँदै नेपाल आउन लागेका हुन् ।
कतारका राजा मंगलबार पौने ५ बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने भए पनि बिहानैदेखि चोक–चोकमा सुरक्षाकर्मीहरु परिचालन भइसकेका छन् । राजासहितको भ्रमण टोलीलाई सोल्टी होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको समेत आयोजना गर्ने कार्यक्रम तय भएको छ। दुई राष्ट्र प्रमुखबीच औपचारिक भेट भने शीतलनिवासमा हुनेछ।
भोली बुधबार प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।
कतारको राजासहितको भ्रमण टोली बुधबार दिउँसो दुई बजे नेपालबाट फर्किने कार्यक्रम छ । कतारी राजाको स्वागतका लागि सरकारले आज मंगलबार सार्वजनिक बिदासमेत दिएको छ।