• शनिबार, साउन ९ २०८३

भूमीगत कालदेखि नै स्वकीय सचिव रहेका विश्वदीप पाण्डेले किन छाडे बाबुराम भट्टराईको साथ ?


सोमबार, बैशाख ३ २०८१
1.6K
Shares

काठमाडौँ । विश्वदीप पाण्डेले समेत डा बाबुराम भट्टराईको साथ छोडेका छन् । आज सोमबार बिहानै पाण्डेले सामाजिक सञ्जाल मार्फत डा भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पाण्डे बाबुरामका त्यस्ता विश्वासिला पात्र हुन् जसलाई बाबुरामले भूमीगत कालदेखि हालसम्म आफ्नो सचिवालयको सम्पूर्ण जिम्मेवारी सुम्पिएका थिए ।

यस अर्थमा पाण्डे बाबुरामका सबैभन्दा विश्वासिला पात्रका रुपमा स्थापित थिए । तर तिनै विश्वासिला पत्र पाण्डेले २०८१ साल लागे लगत्तै बाबुरामको साथमा नरहेको घोषणा गर्न पुगे ।

यसअघि बाबुरामका विश्वासिला धेरै पात्र तथा नेताहरुले साथ छाडेपनि पाण्डे भने स्वकिय सचिवकै रुपमा रहि डा भट्टराईको प्रमुख सहयोगीका रुपमा कृयाशिल रहँदै आएका थिए ।

पाण्डेले नेपाल समाजवादी पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।

पूर्वप्रधामन्त्रीसमेत रहेका बाबुराम भट्टराईको प्रेस सल्लाहकारको समेत जिम्मेवारी निर्वाह गरेका पाण्डे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको अध्ययन गर्ने र मिडियामैत्री राजनीतिज्ञको रुपमा समेत परिचित छन्।

सञ्चारकर्मीले राजनीतिज्ञबाट अपेक्षा राख्ने सहज सूचनाको प्रवाहमा विना कन्जुस्याइँ सूचना प्रवाह गर्ने र मिडिया तथा मिडियाकर्मीले चाहँदा सहजै उपलब्ध हुने थोरै राजनीतिज्ञमध्ये एकका रुपमा समेत पाण्डेको छबि बनेको छ।

किन छोडे विश्वदीपले बाबुरामको साथ ?

पछिल्लो समय सरकारमा जाने कि नजाने विषयमा नेपाल समाजवादी पार्टीमा दुई धार हुँदै विभाजनसम्म पुगेको थियो।

पाण्डे पनि नेसपा र माओवादी एकता हुनुपर्ने पक्षमा थिए। उनले त्यसका लागि पटकपटक प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुरामबीच भेटको वातावरण मिलाएका थिए।

पछि प्रचण्ड र बाबुरामबीच दूरी बढेपनि पार्टीभित्र एकता गर्नुपर्ने माग बढेको थियो।

त्यसबीच गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेका थिए।

त्यतिबेला पाण्डे भने बाबुरामकै पक्षमा थिए। तर त्यसको एक महिनापछि उनले बाबुरामको साथ छोडेको घोषणा गरेका हुन्।

‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको छु,’ उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुक र एक्समा लेखेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार