काठमाडौं । आज देशभरका मुस्लिम समुदायले इदुल फित्र पर्व मनाउदैछन् । अरबिक क्यालेण्डरको नबौ महिना रमजान भरि एक महिने रोजा (ब्रत) सम्पन्न गरेको खुसीयालीमा हर्षोउल्लासका साथ यो पर्व बनाउने गरिन्छ ।
इश्लाम धर्मको पाँच आधार स्तम्भ मध्ये चौथो आधार स्तम्भमा पर्ने रमजानको रोजा र धार्मिक ग्रन्थ कुरान सरिफ यसै महिनामा अबतरित भएकाले पनि यो महिनाको महत्व झनै बढेको हो । रमजानको पहिलो तारिखबाट ब्रत सुरु हुने र सावाल महिनाको पहिलो तारिखका दिनलाई ठूलो उत्सबका रुपमा इदुल फित्रलाई मनाइने गरिन्छ ।
यहि महिनामा आफुले एक वर्ष सम्म कमाएको सम्पत्तीको केहि प्रतिशत धार्मिक कर (जकात) अनिवार्य तिर्नु पर्ने हुन्छ । साडे ५२ तोला चाँदी, साडे ७ तोला सुन वा सो सरह सम्पत्ती भएको प्रत्येकले आफ्नो कुल सम्पत्तीको २ दशमलव ५ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने धार्मिक प्रावधान रहेको मुस्लिम जानकारहरु बताउछन् ।
यसरी संकलन भएको जकात अर्थात धार्मिक करको रकम विपन्न, अनाथ, गरिब र दुखीहरुको हितमा खर्च गर्ने चलन छ ।
आज इदका दिन सबेरै नुहाउने, नया कपडा लगाउने, आफ्ना आफन्तहरुलाई दान दक्षिणा दिने, सबै मस्जिद वा इदगाहमा भेला भई इदको नमाज पढ्ने, खुसी साटासाट गर्ने, अल्लाहको प्राथाना गर्ने, बिशेष प्रकारका खानाका प्रकारहरु बनाइ खाने, सामुहिक भोज गर्ने लगायतका क्रियाकलाप गरी यो पर्व मनाइने गरेको मुस्लिम अगुवाहरुको भनाई छ ।
इदको अवसरमा आज सरकारले देशैभर सार्वजानिक विदा समेत दिएको छ ।