काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा साँसद प्रदिप पौडेलले रुसका लागि नेपालीलाई खुला गरिएको श्रम स्विकृतिका बारे संसदमा प्रश्न उठाएका छन् ।
आजको प्रतिनिधी सभा बैठकमा पौडेलले रुसमा जान श्रम स्वीकृति दिने सरकारको निर्णयमा पनि उनले प्रश्न उठाएका हुन् । रुस नजाऊ भनेर आग्रह गर्नुपर्नेमा श्रम मन्त्रालयले श्रम स्वीकृति दिने निर्णय गरेको भन्दै उनले भने, ‘मानव तस्करहरुलाई सहज हुने गरी यति नै बेला श्रम स्वीकृति किन दिइयो ?’
सांसद पौडेलले रुसी सेनामा रहेका नेपालीहरुको उद्दारमा सरकारले पहल नगरेको समेत आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोलेका कांग्रेस सांसद पौडेलले रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्ने समेत सरकारलाई थाहा नभएको बताए ।
‘नेपालीहरु रुसी सेनामा छन् भन्ने सरकारलाई थाहा छ । तर कति संख्यामा छन् ? उनको अवस्था के छ ? आफन्तहरु कसरी बासिरहेका छन् भन्नेमा सरकार बेखबर छ’ उनले भने, ‘बेखबर मात्र होइन, सरकारले खोजी गर्ने चेष्टा नै गरेको छैन ।’
पीडित परिवार र उनीहरुसँग काम गरको स्वयंसेवीहरुले उपलब्ध गराएको तथ्यांक भन्दै उनले रुसी सेनामा ७०० भन्दा बढी नेपाली रहेको सुनाए । उनका अनुसार ४० जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी बेपत्ता छन् । ११७ जना घाइते भएका छन् ।
उनले रुस बारे अन्योलको अवस्था सृजना भएकाले सरकारले तत्काल निकास निकाल्नुपर्नेमा समेत जोड दिएका छन् ।
