• शनिबार, साउन ९ २०८३

बचत रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन सूर्यदर्शनका बचतकर्ताले दिए निवेदन


बिहिबार, चैत्र ८ २०८०
1.7K
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचत गरिएको रकम फिर्ता गर्ने व्यवस्था मिलाइदिन भन्दै प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा निवेदन दिइएको छ । सूर्यदर्शन बचतपीडित संघर्ष समितिका तर्फबाट बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासमक्ष निवेदन दिइएको हो ।

उक्त सहकारीले १८ हजार ७०० बचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने संघर्ष समितिले जनाएको छ । विगत दुई वर्षयता कसैले पनि बचत फिर्ता पाउन नसकेको उनीहरूले बताएका छन् ।

रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई पक्राउ नपरेको उनीहरूले उल्लेख गरेका छन् । उनीहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

सहकारीको पैसा गोर्खा मिडिया कम्पनीअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० करोड रुपैयाँ लगानी गरिएको देखिएको उनीहरूले बताएका छन् । यस विषयमा आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको भन्दै उनीहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गरेका छन् ।

१९ विरुद्ध किटानी जाहेरी दिइए पनि हालसम्म १४ जना पक्राउ पर्न नसकेका उनीहरूले बताए । गएको माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधान एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी दिइएको थियो । तर, छानबिन नगरिएको बताइएको छ ।

सूर्यदर्शन सहकारीमा लामिछानेको खाता नं. १०३९०००६६७५७ रहेको बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । उक्त निवेदन बुझ्दै समितिका सभापति खतिवडाले राज्यले पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सरकारले पीडितका पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरे ।

उनले गृहमन्त्री लामिछानेले कुनै समय सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको स्मरण गरे । आफैँ सरकारमा भएका बेलामा समस्या समाधान गरिदिए राम्रो हुने उनले उल्लेख गरे ।

सभापति खतिवडाले सो निवेदनउपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका निम्ति पहल गर्न सरकारलाई आग्रह गरिने पनि बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार