• शनिबार, साउन ९ २०८३

सत्तागठबन्धन फेर्दा प्रचण्डले लगाएको आरोप स्वीकार्य छैन : काँग्रेस


मंगलबार, फाल्गुन २९ २०८०
1.1K
Shares

काठमाडौँ । नेपाली कांग्रेसले सत्तागठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको जनाएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले देशलाई सुशासनका साथै आर्थिक वृद्धिको लक्ष्यका साथ अघि बढेको र आर्थिक अवस्था पनि सुधार भएको अवस्थामा सत्ता गठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको बताएका हुन् ।

 

उनले प्रधानमन्त्रीले कांग्रेस र कांग्रेसका मन्त्रीहरूमाथि मिथ्या आरोप लगाएको बताए । कांग्रेस महासमिति बैठकमा गठबन्धनलाई सुदृढताका साथ अगाडि बढाउने निर्णय नै भएको भन्दै उनले बैठकभित्र बोलेका कुरालाई लिएर गठबन्धन परिवर्तन गर्ने काम चालबाजी मात्रै भएको धारणा राखे ।

सङ्कटमा रहेको अर्थतन्त्रलाई अथक प्रयासका साथ लयमा फर्काउने प्रयास

डा. महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताएका छन्।

‘मैले अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा मुलुकको अर्थतन्त्रको अवस्था शिथिल थियो। मिहिनेतका साथ लयमा ल्याएका थियौँ। नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलगायतले प्रकाशित गरेका तथ्याङ्कबाट पनि यो स्पष्ट हुन्छ’, उनले भने, ‘अर्थमन्त्रीको जिम्मेवारी लिँदा मूल्यवृद्धि आठ दशमलव पाँच प्रतिशत रहेकोमा अहिले त्यो पाँच प्रतिशतमा सीमित छ।’

डा. महतले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाइएकाले पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको बताए।

‘कसिलो मौद्रिक नीतिलाई खुकुलो बनाएपछि बैंकको ब्याजदर घट्दो छ भने लगानीको वातावरण पनि बन्दै गएको छ’, उनले भने, ‘अर्थतन्त्र सकारात्मक लयमा रहेका कारण पुँजीबजार, घरजग्गाको कारोबार र पर्यटन व्यवसायले गति लिएको छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार