काठमाडौँ । बिभिन्न वित्तिय संस्थाहरुमा कार्यरत महिला कर्मचारीहरुलाई सशक्तिकरण सम्बन्धि तालिम दिइएको छ । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको पूर्वसन्ध्यामा नेपाल वित्तिय संस्था कर्मचारी संघको राष्ट्रिय महिला समितिले तालिमको आयोजना गरेको हो ।
कार्यक्रममा बैंक, लघुवित्त लगायत वित्तिय संस्थाहरुमा कार्यरत महिला कर्मचारीहरुका लागि सशक्तिकरणका बारे अभिमुखिकरण गराइएको हो ।
राष्ट्रिय महिला समितिका अध्यक्ष सुनिता बस्यालको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल वित्तिय संस्था कर्मचारी संघका राष्ट्रिय अध्यक्ष पदमराज रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष परशुराम खनाल, खुला उपाध्यक्ष शिवनाथ योगी, अधिवक्ता मन्दिरा अधिकारी, महिला समितिका राष्ट्रिय उपाध्यक्ष लस्ता श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
५० जना महिला कर्मचारीको सहभागिता रहेको तालिममा अधिवक्ता मन्दिरा अधिकारीले वित्तिय क्षेत्र सम्बन्धि विद्यमान कानून, समयको व्यवस्थापन, कार्यदक्षता अभिवृद्धिका सवाल लगायतका बारे प्रशिक्षण गराएकी थिइन् । उनले महिला कर्मचारीका समस्या, सामाजिक तथा पारिवारिक चुनौती र त्यसको सहज व्यवस्थापनको उपायका बारे समेत प्रशिक्षण दिएकी थिइन् ।
त्यस्तै अर्काे सेसनमा नेपाल बैंक लिमिटेडमा कार्यरत आइटी प्रमुख वन्दना शर्माले साइवर सुरक्षाका बारे सहभागीलाई जानकारी गराएकी थिइन् । उनले पछिल्लो समय बढ्दो साइबर अपराध, यसका किसिम, रोकथाम र न्यूनिकरणका उपाय, सामाजिक सञ्जालको प्रयोग, दुरुपयोग हुन सक्ने चुनौती, अवस्था र त्यसको सुरक्षा लगायतका बारे प्रशिक्षण दिएकी थिइन् ।