काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी नेपाल (जसपा) सम्मिलित चार दलीय कार्यदलमा भएको सहमतिअनुसार पुष्पकमल दाहाल प्रचण्ड सरकारको मन्त्रिमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।
सहमतिअनुसार एमालेले ८ र माओवादीले ५ मन्त्रालय पाएको छ । रास्वपाले ४ मन्त्रालय पाएको छ भने जसपाले २ मन्त्रालय पाएको छ ।
एमालेले सरकारमा शीर्ष नेतृत्व पठाएन
नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा शीर्ष नेतृत्व नपठाउने भएको छ ।
नेपाली कांग्रेससँग गठबन्धन तोडेर हालै एमालेसँग नयाँ गठबन्धन गरेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ‘जुनियर नेता’ले प्रतिनिधित्व गर्ने भएका छन ।
जसअनुसार एमालेबाट रघुवीर महासेठको नेतृत्वमा प्रारम्भिक चरणमा ७ जनाको नामावली प्रधानमन्त्री प्रचण्डलाई बुझाउने भएको छ । स्रोतका अनुसार यसअघि सपथ लिएर बिना विभागीय मन्त्री रहेका पदम गिरीसहित दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीलाई मन्त्रीमा सिफारिस गरिएको छ ।
हालसम्म महासेठको बाहेक एमालेका अन्य नेताको कुन मन्त्रालय पाउने हो भन्ने ठोस निर्णय गरिसकिएको छैन् ।
माओवादीका ५ मन्त्री टुंगिए
माओवादी केन्द्र स्रोतका अनुसार यसअघि मन्त्रिपरिषदमा रहेका ३ जनाले निरन्तरता पाउनेछन् । नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नेछन् भने वर्षमान पुन अर्थमन्त्री बन्नेछन् ।
शक्तिबहादुर बस्नेत, रेखा शर्माले पनि मन्त्रीमा निरन्तरता पाउनेछन् । उनीहरुको मन्त्रालय भने टुंगिएको छैन । माओवादी केन्द्रकै नेता हितबहादुर तामाङले मन्त्री पदको शपथ लिए पनि मन्त्रालय टुंगो लागेको छैन ।
रास्वपाले टुंग्यायो ४ मन्त्रीको नाम
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने चार जनाको नाम टुंगो लगाएको छ ।
रास्वपाले गृह मन्त्रालयमा सभापति रवि लामिछाने, श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।
पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेका अनुसार रास्वपाले पाउने चार मन्त्रालय र पार्टीबाट पठाउने व्यक्तिको चयन भएको हो ।