काठमाडाैँ । सत्ता गठबन्धनकाे समिकरण फेरिएसंगै कुन मन्त्रालय कसकाे भागमा पर्ला र मन्त्री काे बन्ला भन्ने काैतुहलता बढेर गएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज नेपाली काँग्रेससंग असन्तुष्टी पाेख्दै एमाले र रास्वपासहितका दलसंग नयाँ समिकरण गरेसंगै नयाँ सरकारकाे मन्त्रीमण्डल कस्ताे बन्ला भन्ने काैतुहलता बढेको हाे ।
आजै तिन पार्टीबाट ३ जना मन्त्रीलाई सपथ खुवाउने तयारी भएपनि मन्त्रालय भने ताेकिएकाे छैन ।
नयाँ गठबन्धन दलबाट आज एक-एक जना मन्त्रीलाई शपथ खुवाउने तयारी छ। एमालेबाट पदम गिरी, माओवादीबाट हितमान तामाङ र रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने तयारी छ।
हालकाे नयाँ समिकरणमा गृह, अर्थ लगायतका महत्वपूर्ण मन्त्रालयकाे बाँडफाँडमा भने विवाद देखिएकाे छ ।
नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने अडान राखेका छन्। यसअघि ३२ दिन गृह मन्त्री बनेका रास्वपाका सभापति पुन साेही मन्त्रालय फर्कन चाहेका छन् । तर एमालेले समेत गृहमा आँखा लगाएपछि विवाद बढेकाे हाे ।
बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका हुन्। माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको थियो।
एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको स्रोतको भनाइ छ। ‘तपाईंहरूले छलफल गरेर गृह कसले लिने मिलाउनुहोस्, माओवादीको दाबी छैन,’ प्रधानमन्त्री दाहालको भनाइ थियो।