• शुक्रबार, साउन ८ २०८३

कांग्रेस र माओवादीको गठबन्धनमा सङ्कट, नयाँ समिकरण बन्ने सम्भावना बढ्दै


सोमबार, फाल्गुन २१ २०८०
1.5K
Shares

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढ्दै जाँदा सत्ता गठबन्धन नै सङ्कटमा परेको छ । पछिल्लो पटक कोशी प्रदेशमा देखिएको समस्या, मन्त्रिपरिषद् पुनर्गठन र राष्ट्रिय सभाको अध्यक्षको विषयमा कुरा नमिल्दा दुई पार्टीबीच असमझदारी बढेको हो ।

कांग्रेससँग असमझदारी बढेपछि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर नयाँ समीकरण बनाउने गृहकार्य थालेको बुझिएको छ ।

यही बीचमा हिजो राती हुने भनिएको परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण पनि प्रधानमन्त्री दाहालकै निर्देशनमा रद्द भएको छ । फिनल्यान्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति परराष्ट्रमन्त्री साउद त्यसतर्फ जाने तयारीमा थिए । तर अन्तिम समयमा भ्रमण रद्द भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

माओवादीसँगको गठबन्धन जोगाउन कांग्रेसले पनि पहल गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग छलफल गरेका थिए। देउवाले मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने भएकाले त्यसका लागि तयार रहन काँग्रेसका मन्त्री र नेताहरुलाई निर्देशन दिएको खबर बाहिरिएको छ ।

कांग्रेस सभापति देउवाले मन्त्री हेरफेर गरेर भए पनि गठबन्धन जोगाउने पहल गरिरहँदा प्रधानमन्त्री प्रचण्डले भने नयाँ सत्ता समीकरणका लागि छलफल बढाइरहेका छन् ।

आइतबार राति एमाले अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, माओवादी वरिष्ठ उपाध्यक्ष तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा छलफल हुँदा महत्त्वपूर्ण समझदारी बनेको र आज अर्को बैठक बसेर त्यसलाई मूर्तरुप दिने तयारी छ।

उनिहरु बीच मिलेर जाने मौखिक सहमति भएको स्रोत बताउछ । आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मिलेर जाने मौखिक सहमति भएको माओवादीका एक नेताले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै रहने गरी नयाँ गठबन्धन बनाउने समझदारी बनेको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

आइतबार कानुनमन्त्री धनराज गुरूङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक रोकेपछि कांग्रेससँग संशकित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राति एमाले, रास्वपालगायत अन्य दलहरूसँग सहमति गरेको ति नेताको भनाई छ ।

त्यस्तै आज बिहान बालुवाटारमा माओवादीको पदाधिकारी बैठक समेत भएको छ । उता नेकपा एमालेले समेत ओली निवास बालकोटमा सचिवालय बैठक बोलाएको छ । त्यस्तै बिहान प्रधानमन्त्री दाहालले बोलाएको सत्ता गठबन्धनको बैठक भने स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार