• शनिबार, साउन ९ २०८३

मृत्युकाे सूचना लुकाएर लमजुङमा जनप्रतिनिधिबाटै सामाजिक सुरक्षा भत्ता ‘झ्वाम’


शुक्रबार, फाल्गुन १८ २०८०
5.1K
Shares

काठमाडौँ । लमजुङमा एक जनप्रतिनिधिले मृत्यु भइसकेका व्यक्तिको सूचना लुकाएर सामाजिक सुरक्षा भत्ता वापतको रकम दुरुपयोग गरेको भेटिएको छ ।

मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३ की वडा सदस्य पारकाशी गुरुङले मृत्यु भइसकेका आफ्नै ससुराको सामाजिक सुरक्षा भत्ता वापतको रकम कागजपत्र मिलाएर खाएको पाइएको हो ।

उनका ससुरा राम बहादुर गुरुङको २०७६ साल मंसिर ९ गते मृत्यु भएको थियो । सोको प्रमाणित उनको मृत्यु पश्चात सोहि मितिमा उनका भाइखलकले गरेको माइनोटबाट हुन्छ ।

तर वडा कार्यालयमा रामबहादुरको मृत्यु भने २०७७ साल असार १६ भएको भनि झूठो व्यहोरा राखी असार ३० गते मात्र गरिएको देखिन्छ । यो बिचको सामाजिक सुरक्षा भत्ता कागजपत्र मिलाएर वडा सदस्य गुरुङले आफनै श्रीमान अर्थात राम बहादुरका छोरा नैन बहादुर गुरुङको नाममा बैँकमा रकम जम्मा गर्न लगाएर पद र रकम दुवैको दुरुपयोग गरेको पुष्टि भएको छ ।

साविकको सिभिल बैंक (हाल हिमालयन बैंक)  भुलभुले लमजुङ शाखालाई मस्र्याङ्दी गाउँपालिकाले नै नक्कली मिति देखाएर उनका छोरा नैन बहादुर गुरुङको नाममा रहेको खातामा मृत्यु भइसकेका वुवा रामबहादुरको सामाजिक सुरक्षा भत्ता वापतको रकम उपलब्ध गराइदिन सिफारिस समेत पठाएको पत्र सिभिलखबरलाई प्राप्त भएको छ ।

सामाजिक सुरक्षा नियमावली २०७६ को दफा १३ अनुसार मरेको मिति पछि कसैलाई पनि सामाजिक सुरक्षा भत्ता दिन मिल्दैन । त्यस्तै ३५ दिनभित्र व्यक्तिगत घटना (जन्म, मृत्यु लगायत) दर्ता गराइसक्नुपर्ने समेत प्रावधान छ ।

सोही दफामा ‘ऐन बमोजिम सामाजिक सुरक्षा पाइरहेका ब्यक्तिको मृत्यु भएमा वा त्यस्तो ब्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नरहेको खण्डमा सम्बन्धित वडा समिति (वडाध्यक्ष र वडा सदस्यहरु) को सिफारिसमा सो पालिकाले निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने ब्यक्तिको अभिलेखबाट हटाउनु पर्नेछ’ भनि उल्लेख छ ।

वडा सदस्य पारकाशी गुरुङ

तर यहाँ त वडा सदस्यले नै ससुराको मृत्युको सूचना लुकाएर मंसिरदेखि जेठसम्मको सामाजिक सुरक्षा भत्ता ‘झ्वाम’ बनाएको देखिन्छ ।

पालिकाले २०७७ भदौ ४ गते च.नं. २२४ मा बैंकलाई पत्र लेख्दै २०७६ मंसिर, पुष, माघ र फागुनसम्मको १२ हजार रुपैया मृतक रामबहादुरको छोरा नैन बहादुरको खातामा रकम उपलब्ध गराइदिन अनुरोध गरेको छ । तर पालिकाको सोही पत्रमा रामबहादुरको मृत्यु भने २०७७ असार १६ गते भएको भनि प्रमाणित गरिएको छ ।

पालिकाको यो पत्रको व्यहोरा नै शंकास्पद देखिन्छ । पालिकाले असारमा मृत्यु भएका ब्यक्तिको अघिल्लो बर्षको फागुनसम्म मात्रै किन सुरक्षा भत्ता दिन बैंकलाई सिफारिस गर्याे भन्ने प्रश्न उब्जिएको छ । ‘असारमा मरेकाको भत्ता रकम अघिल्लो बर्षको फागुनसम्ममात्रै किन ?’ एक स्थानीयको आशंका छ ‘२०७६ चैतदेखि २०७७ असार १५ गतेसम्मको भत्ता वापतका लागि पालिकाले सोही ब्यवहोराको अर्काे समेत पत्र काटेको हुनुपर्छ ।’

उनका अनुसार वडासदस्यले वडा कार्यालय र मस्र्याङ्दी गाउँपालिकालाई समेत गुमराहमा राखेर कम्तिमा ७ महिनाको सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको देखिन्छ ।

यता वडासदस्य पारकशी गुरुङले समेत ससुराको मृत्यु भइसकेपछि पनि सामाजिक सुरक्षा भत्ता बुझेको सिभिलखबरसंगको कुराकानीमा स्विकार गरेकी छिन् । ‘ससुरा जेठाजु तुलसी प्रसादसंग बस्नुहुन्थ्यो, ससुराको मृत्यु भएपछि जेठाजु बिरामी हुनुभयो, त्यहि कारण मृत्युदर्ता गर्न ढिलाई भयो’ उनले थपिन् ‘मृत्युदर्ता एकैचोटी असार ३० गते भयो र यो विचमा आएको भत्ताको रकम हामीले बुझेका हौँ ।’

उनका अनुसार जेठाजु तुल्सी प्रसाद गुरुङको आर्थिक अवस्था नाजुक भएकाले सो भत्ता वापत आएको रकम उपचारका लागि भन्दै उनलाई नै हस्तान्तरण गरिएको थियो । उनि नेकपा एमालेबाट दोस्रो पटक निर्वाचित वडा सदस्य हुन् ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले समेत भत्ताको रकम दुरुपयोग भएको भरखरै थाहा पाएको प्रतिकृया दिए । ‘यो बिषय मैले पनि थाहा पाएँ, हामी आन्तरिक छानविनकै क्रममा छौ, दोषी पाइए कानून अनुसार कारबाही हुन्छ ।’ सिभिलखबरसंग उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार