काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले आफ्नो भाइ नारायण दाहाल र बुहारी विना मगरलाई प्रदेश सहइन्चार्ज बनाएपछि माओवादीमा विवाद सृजना भएकाे छ ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको कार्यविभाजनको निर्णयप्रति लिखित असहमति राख्दै उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारका सदस्यबाहेक अरूलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् ।
स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्यूत गरेर प्रदेशमा हाललाई विना मगरलाई सह-इन्चार्जको जिम्मेवारी दिइएको छ ।
कार्यविभाजनमा अध्यक्ष प्रचण्डले आफ्नो भाइ र बुहारीलाई जिम्मेवारी दिएर केहीको खोसिएपछि उनले प्रचण्डलाई बुझाएको लिखित असहमति पत्रमा उल्लेख गरिएको छ ।
प्रदेश इन्चार्ज फेरबदल हुँदा आफ्नो जिम्मेवारी खोसिएको भन्दै स्थायी समिति सदस्य जनार्दन शर्माले असहमति जनाएलगत्तै अर्का स्थायी समिति सदस्य खगराज भट्टलेसमेत असन्तुष्टि जनाएका छन्।
भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ।’
हेर्नुस जनार्दन शर्माको असहमती पत्रकाे पूरा अंश
आदरणीय अध्यक्ष कमरेड एबम् स्थायी समिति
विषयः असहमति बारे ।
विधान अधिवेशन लगतै बसेको स्थायी समितिको बैठकमा विधानबारे एजेन्डा नै नराख्नु विधान अधिवेशनले पारित गरेको निर्णयहरुको भाषिक रुपले सम्पादन गरी कार्यान्वन गर्ने कार्यभारप्रति वेवास्था गर्नु र पारित विषयलाई वेवास्था गरी विधि विहिनतालाई निरन्तरता दिने उद्धेश्य देखिनु दुःखद् कुरा हो। विधान अधिवेशनबाट पारित भएका निर्णयहरु सम्पादन गरी तुरुन्त कार्यान्वय गर्न माग गर्दछु ।
स्थायी कमिटीमा कार्य विभाजन एजेन्डा बारे गृहकार्यको नाममा पटक-पटक बैठक सरेको र आज मिति २०८० फागुन १५ गते प्रस्तावित भई असहमतिका बिच पारित गरिएका निर्णयहरु प्रति गम्भिर असहमतिका साथ आफ्नो मत राख्दछु ।
कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा कतिपय प्रदेशहरुमा कार्य विभाजन गर्दा स्थायी समितिका सदस्यलाई समेत वेवास्था गरी विधि विपरित आफ्नो अनुकूलतामा गरिएको निर्णयप्रति असहमति जाहेर गर्दछु । जनप्रतिनिधिहरु पार्टीको इन्चार्ज नरहने नीति म लगायतका कमरेडहरुलाई लागू गरेको भने पनि नारायण दाहाललाई बागमती प्रदेशको सह-इन्चार्ज बनाउने निर्णयले के उद्देश्य रहेको छ भन्ने स्पस्ट गरेको छ ।
अझ गम्भिर कुरा त सेती महाकालीमा केही समयदेखि इन्चार्ज बनाउन अध्यक्ष समेतको संलग्नतामा गरिएको गतिबिधिहरुका आधारमा दर्जनभन्दा बढी कमरेडलाई वेवास्था गर्दै, स्थायी समिति सदस्य खगराज भट्टलाई दल नेता र इन्चार्ज दुवैबाट पदच्युत गरी विकल्प नदिई अपमानित गरिएको । सो प्रदेशमा हाललाई बिना मगरलाई सह-इन्चार्ज बनाउनुले सेती महाकालीमा पार्टीलाई अस्तव्यस्त पार्ने मात्र नभई कतिपय कमरेडलाई यो पार्टीमा स्थान नै छैन भन्ने सन्देश दिन गरिएको निर्णय आफैमा गम्भिर छ । खगराज भट्टलाई यो वा त्यो जिम्मेवारीबाट सन्तुलन नगरी राजनीतिक रुपबाट विस्थापित र अपमानित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दछु ।
मैले जिम्मेवारी नपाउने कुरालाई सामान्य रुपमा लिएको छु । तर यसभित्रको अन्तर्निहित उद्धेश्य, विधान सम्मेलनमा मैले प्रस्तुत गरेका एजेन्डाहरु, छलफल र हलले पदाधिकारी समेत अधिवेशनबाट चुनिनुपर्ने मागलाई बेवास्था गर्दै पदाधिकारी र पार्टी नामबारे पछि गरौला भन्दै टारिएको अवस्था जगजाहेर छ । उपर्युक्त मतप्रति सकरात्मक रहेकाहरुलाई जिम्मेवारी विहिन बनाउनुले के मनसाय रहेको छ भने स्पस्ट हुन्छ । उक्त अधिबेशनमा मैले मौखिक रुपमा सो सम्बन्धमा राखेको कुराप्रति व्यवास्था गरेकाले मैले पार्टीको विधि विधानभित्र रहेर आफ्नो मत राख्न खोज्दा अधिवेशनमा समेत बोल्ने अनुमति नदिएको स्मरण गराउँदै कार्य विभाजनमा आइपुग्दा सोही
आग्रहबाट निर्देशित भएको स्पस्ट हुन्छ । जनप्रतिनिधिले पार्टी कामको जिम्मेवारी नलिने नीतिगत व्यवस्था कर्यान्वयन गर्ने कुरा गर्दा स्वयम् अध्यक्ष र सम्पुर्ण तहमा लागू गर्ने हो होइन भन्ने प्रश्न स्वाभाविक रुपमा उठछ ।
विधानको व्यवस्था अनुसार पार्टी पंक्तिमा आफ्नो मत राख्न पाउने अधिकारको उपयोग गर्दै लिखित असहमति पत्र यस बैठकमा प्रस्तुत गरेको छु। पार्टी निर्माणप्रति प्रतिबद्ध रहँदै सरकार र संसद्का कामहरु समेतमा सकारात्मक भूमिका निर्वाह गर्ने जिम्मेवारीप्रति स्पस्ट रहेको कुरा समेत अनुरोध गर्दछु ।
– जनार्दन शर्मा “प्रभाकर”
मितिः २०८०/११/१५