काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तोषिमा कार्कीले स्वास्थ्य संस्थाहरूले गर्ने परीक्षण र उपचार खर्चमा एकरूपता ल्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छिन् ।
प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद कार्कीले तरकारीदेखि तेलसम्म र नुनदेखि सुनसम्मको मूल्य राज्यले तोकिदिएको भएपनि बिरामीको उपचारजस्तो अति संवेदनशील विषयमा राज्यले कुनै शुल्क नतोकेको बताइन् ।
परीक्षण र उपचारको कुनै शुल्क निर्धारण नहुँदा निजी र सरकारी स्वास्थ्य संस्थाहरूले आफूखुसी शुल्क लिइरहेका भन्दै यसको नियमन हुनुपर्ने उनले बताइन् । उनले स्वास्थ्य उपचार गर्न पनि लुगा र जुत्ता बेचेजस्तो मोलमोलाइ भइरहेको बताउनुभयो । एउटै ल्याब परीक्षणमा पाँच गुणा बढीसम्म शुल्क लिइएको प्रमाण आफूले भेटेको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण समेत गराइन्। कार्कीले शुल्क निर्धारण समितिलाई तत्काल सक्रिय बनाएर शुल्क निर्धारण गर्न सरकारसँग माग गरिन् ।