काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने सम्भावित कार्यसूची छ ।
बैठकमा सभामुख घिमिरेले प्रेम सुवालले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘भन्सार विधेयक, २०८०’ प्रस्ताव गर्ने र “बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।