काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकका निम्ति महामन्त्री गगन थापाले तयार पारेको प्रतिवेदनमा सभापति शेरबहादुर देउवाले अझै चित्त बुझाएका छैनन् । महामन्त्री थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय प्रतिवेदनमा लेखेका छन् ।
सभापति देउवासहित उनको टिममा रहेका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतलगायत नेताले सो विषयमा असन्तुष्टि जनाएका हुन् । सहमति जुटाएर प्रतिवेदन अघि बढाउन सोमबार बिहान बूढानीलकण्ठस्थित देउवाको निवासमा बैठक बसेको थियो । बैठकमा सहमति जुटेन ।
महासमिति बैठक सोमबारै दिउँसो १ बजे उद्घाटन गर्ने र त्यसपछि पुनः बैठक बसेर विषय टुंगो लगाउने भन्दै नेताहरू उठेका हुन् ।
कांग्रेस महासमिति बैठक आजदेखि ललितपुरको गोदवारीस्थित सम्मेलन केन्द्रमा सुरु हुँदै छ ।