काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आज सकिँदै छ । यो विधान सम्मेलनमा पार्टीको नाम फेर्न तत्काल नेताहरू सहमत नहुने देखिन्छन् ।
माओवादी स्रोतका अनुसार पार्टीको नाम परिवर्तन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै तयार छैनन् । २० समूहमा भएको मंगलबार र बुधबारको छलफलमा करिब ५ वटा समूहबाट नाम परिवर्तन गर्ने सुझाव आएको थियो । तर, तत्काल नाम भने परिवर्तन नहुने स्रोतको भनाइ छ ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको मस्यौदामाथि २० मध्ये १३ वटा समूहले छलफलबाट आएका सुझाव प्रस्तुत बुधबार नै प्रस्तुत भइसकेको थियो । आज सात ७ वटा समूहको प्रस्तुति छ ।
एक नेताका अनुसार पार्टीको चिह्न फेर्ने विषयमा भने चर्को आवाज उठेको छ । यसमा अध्यक्ष दाहाल समेत लचिलाे देखिएकाे स्राेतकाे भनाई छ ।
२० वटै समूहबाट प्राप्त सुझावका आधारमा विधानलाई अन्तिम रूप दिइने माओवादीले जनाएको छ ।
२० समूहको प्रस्तुति सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र विधान पारित गर्दै अधिवेशन आजै सक्ने माओवादीको तयारी छ ।