काठमाडाैँ । जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ।
दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।
गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका व्यवसायी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। अदालतले पहिलो पटक चार दिनको म्याद दिएको थियो। तर यो अवधिमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले सोमबार थप म्याद मागेको थियो।
जिल्ला सरकारी वकिल कार्यालयमा आइतबार नै उनीहरुको बयान सकिएको थियो। तर प्रहरीले थप अनुसन्धान बाँकी नै रहेको भन्दै हिरासतमा राखेर अनुसन्धानन गर्न माग गरेको थियो।
६० वर्षीय चौधरी तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सेयरधनी तथा सञ्चालक हुन्। उनीहरूले पहिले सार्वजनिक कम्पनीलाई निजी कम्पनी बनाएको सीआईबीको निष्कर्ष छ।