काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनका दोषी पाइएपछि कारबाहीको लागि सिफारिस गरेकाहरुको नामावली सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले ६० जनाको नाम बाहिर ल्याएको छ ।
आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ मा गरिएको कामकारबाहीबारे जारी विज्ञप्तिमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम सार्वजनिक गरेको छ ।
जसमा प्रहरीतर्फबा६ मात्रै ३२ जना कारबाहीको लागि सिफारिस परेका छन् ।
सिफारिस गरिएका ६६ मध्ये ६ जनाको हकमा कारवाहीको जानकारी प्राप्त भएकोले नाम सार्वजनिक नगरिएको आयोगले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मानव अधिकार उल्लंघन दुरुत्साहन सम्बन्धी ५८ वटा उजूरी दर्ता भएको र गत वर्षको बाँकीसहित ११७ वटा उजुरी माथि अनुसन्धान भएको आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार यो अवधिमा ४४ वटा उजूरीमा अन्तिम निर्णय हुँदा ३७ वटा उजुरीमा कारवाही तथा क्षतिपूर्तिको लागि सिफारिस र ७ वटा उजुरी तामेली तथा खारेजी गर्ने निर्णय भएको छ ।
सिफारिस भएका ३७ वटा उजुरीमा २१ जना पीडितलाई १४ लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति दिन र १२ जनालाई कारबाही गर्न र अन्य विषयमा १५ सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।