• शुक्रबार, साउन ८ २०८३

राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा धमाधम मतदान हुँदै, ३ बजेपछि गणना, आजै परिणाम


बिहिबार, माघ ११ २०८०
1.4K
Shares

तस्विरमा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मतदान गर्दै ।

काठमाडाैँ । राष्ट्रिय सभाका १९ सदस्य चुन्न आज सातै प्रदेशमा मतदान भइरहेको छ। रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान भइरहेकाे हाे। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

नेकपा (एमाले) बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का ६, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम आज बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलका सबै मतदाताहरू गोप्य मतदानद्वारा आफूले रोजेको र चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

उनका अनुसार कोशी प्रदेशको विराटनगर, मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा दुई दुई वटा मतदान केन्द्र स्थापना गरिएको छ । सातै प्रदेशमा हुने निर्वाचनका लागि ६३ जना कर्मचारी खटाइएको आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

प्रदेश सभा सदस्यतर्फ ५४९ मतदाता छन्। पालिकातर्फ एक हजार ४९८ मतदाता छन् । यसरी राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल दुई हजार ४७ जना मतदाताले १९ सदस्यलाई निर्वाचित गर्ने छन्। प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको छ ।

३ बजे मतदान सम्पन्न भएपछि लगत्तै मतगणना सुरु हुने र बिहीबार अबेर रातिसम्म मतपरिणाम आउने आयोगको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार