काठमाडौँ- सरकारले ग्रीन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले ऊर्जा शक्तिको विकासका लागि मार्ग प्रशस्त गर्न ग्रीन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।रेखा
बैठकले सुर्खेतको करेखोलामा ४ किला तोकी पशु वद्यशाला स्थापना गर्न स्वीकृत दिने निर्णय गरेको छ । केन्यामा आयोजना हुने युनाइटेड नेसन्स वातावरणसम्बन्धी गोष्ठीमा सहभागी हुनका लागि नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महत्वलाई स्वीकृत दिने निर्णय भएको उनले बताइन् ।
त्यस्तै बैठकले विराटनगर महानगरपालिका-५ स्थित १३ कट्ठा दुई धूर जग्गा नेपाल खानेपानी संस्थान विराटनगर शाखालाई खानेपानी संरचना निर्माण गर्न भाडामा दिन स्वीकृत दिने निर्णय पनि भएको उनले बताइन् ।
बैठकले खुर्कोट जग्गा एकीकरणको आयोजनाका लागि करिब ६७७ रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय गरेको छ भने रामराजाप्रसाद सिंह विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति गठन आदेश, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।