काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता आज मध्यरातदेखि लागू हुँदैछ ।
निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू हुनेछ ।
‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) अनुसार मिति २०८०।१०।०२ देखि मिति २०८०।१०।१२ गते राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म आचार संहिताको दफा १ मा उल्लिखित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेगरी आचार संहिता जारी गरेको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो अवधिमा कुनै सार्वजनिक स्रोत साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन ।
आचार संहिताले कुनै दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको सामग्री उत्पादन तथा प्रयोग गर्न समेत रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा शेयर गर्न समेत हुँदैन । केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान प्रयोग गर्न पाउने छैनन् ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ सिटका लागि हुने निर्वाचनको मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।