काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन्।
नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई आज आफ्नै कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल उत्पादन थाल्न निर्देशन दिएका हुन्।
त्यस अवसरमा प्रधानमन्त्रीले विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको र पछिल्लोसमय त्यसमा अवरोध देखिएको भन्दै नयाँ ढङ्गले काम अगाडि बढाउन निर्देशन दिए।
प्रधानमन्त्रीले भने, ‘विगतमा नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका क्षेत्रमा राम्रो काम गरेको थियो, बीचमा चाहिँ तलमाथि भएको मैले बुझेँ। औषधि उत्पादनको कामलाई नयाँ ढङ्गले गति दिनुपर्छ भनेर नै मैले यो बैठक बोलाएको हुँ। तपाईंहरू काम सुरू गर्नुस् सरकारको तर्फबाट जे–जस्तो सहयोग गर्नुपर्छ, त्यसका निम्ति म तयार छु।’
प्रधानमन्त्रीले अहिले २० वटा औषधि उत्पादनबाट काम सुरू गरेर भविष्यमा त्यसको गुण र मात्रा दुवै बढाउनुपर्नेमा जोड दिए।
औषधि लिमिटेडका अध्यक्ष न्यौपानेले हाल १० प्रकारका औषधिहरू उत्पादन भइरहेको र तत्काल २० प्रकारका औषधि उत्पादनका लागि आवश्यक गृहकार्य जारी रहेको जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।