• शुक्रबार, साउन ८ २०८३

राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा उम्मेदवारी दर्ता, कुन दलबाट कति उम्मेदावार ?


सोमबार, पुष २३ २०८०
1.4K
Shares

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको लागि सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।

सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको हो । निर्वाचनका लागि गठबन्धन दलहरू, नेकपा एमाले लगायतका अन्य दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, एकीकृत समाजवादीबाट २, जनता समाजवादीबाट १ जनाको उम्मेदवारी परेको छ।

उता एक्लै मैदानमा उत्रिएको एमालेले १९ जना नै उम्मेदवार तय गरेको छ। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एक्लै चुनावी मैदानमा छ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था छ । जसअनुसार प्रदेश सभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ ।

निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ ।

निर्वाचन अन्तर्गत उम्मेदवारी उपर पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते प्रदान गरिने कार्यतालिका रहेको छ । निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार