सर्लाही- सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो ।
पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने देखिएको भन्दै कर्फ्यू जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।
कर्फ्यू आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने उल्लेख छ ।
गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा गोली लागेर स्थानीय सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका थोक बिक्रेता जयशंकर साहको घटनास्थलमै मृत्यु भएको थियो ।
मृत्यु भएका जयशंकर साहको शव तीन दिनदेखि घटनास्थलमै छ।