काठमाडाैँ । स्थानीयको प्रदर्शनका कारण सर्लाहीको बरहथवा क्षेत्र तनावग्रस्त बनेको छ। प्रादेशिक अस्पताल राख्ने विषयमा सुरु भएको विवादले उग्र रुप लिएपछि सर्लाहीकाे बरहथवा क्षेत्र हिजाेदेखि तनावग्रस्त छ ।
प्रदर्शनका क्रममा गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियाे । प्रदर्शनका क्रममा मारिएका साह आन्दोलनकारी नभएको प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरी प्रमुख एसपी प्रविण धितालले मृतक युवा आन्दोलनकारी नभएको बताएका हुन् ।
उनि होटल तथा कुखुरा दानाको होलसेल विक्रेता हुन् । आन्दोलनकारीले हतियार खोस्न खोज्दा चलेको गोली साहलाई लागेको पाइएपनि थप अनुसन्धान जारी रहेको प्रहरीको दाबी छ ।
साहको शव अहिलेसम्म उठेको छैन । साहको शव सडकमै राखेर स्थानीयले प्रदर्शन जारी राखेका छन् । आज शनिबार बिहानैदेखि सर्लाहीको कविलासी, सलेमपुर लगायतका स्थानमा पनि प्रर्दशन सुरु भएको छ ।
स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बरहथवा नगरपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गरिरहेका छन् ।