काठमाडाैँ । स्थानीयको प्रदर्शनका कारण सर्लाहीको बरहथवा क्षेत्र तनावग्रस्त बनेको छ।
प्रदर्शनका क्रममा गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको छ। तर प्रहरीले उनको मृत्युको कारण खुलाएको छैन।
प्रहरीको गोली लागेर साहको मृत्यु भएको दाबी आन्दोलनकारीले गरेका छन्। तर सर्लाही प्रहरीले यसबारेमा प्रष्ट हुन नसकेको जनाएको छ।
साहकाे मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उक्त आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाही समेत गर्न सक्ने प्रशासनले जनाएको छ ।
प्रदर्शनलाई नियन्त्रणमा लिन शुक्रबार दिउँसो प्रहरीले १९ सेल अश्रुग्यास र १३ राउन्ड हवाइ फाइर गरेको थियाे।
प्रादेशिक अस्पताल राख्ने विषयमा सुरु भएको विवादले उग्र रुप लिएपछि अश्रु ग्यास र हवाइ फायर गरिएको थियो।
अवस्था सामान्य हुन नसकेपछि १३ राउन्ड हवाइ फायर गरिएको प्रहरीले जनाएको छ।
स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बरहथवा नगरपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गरेका थिए।
अस्पताललाई लिएर स्थानीयबासीले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न खोजेका थिए। त्यसपछि हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ। स्थानीयले मेयरको घरमा राखिएको गाडीमा आगजनी गरेका छन्।