काठमाडाैँ । उपप्रधान मन्त्रीसमेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी घेराबन्दीमा छ भन्ने रिपोर्टिङ भएपछि प्रहरीले गोली चलाएको बताएका छन्।
प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बालकुमारी धरपकडबारे जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले आन्दोलन भइरहेकै ठाउँमा मन्त्रीको गाडी आएको र घेराबन्दीमा परेको भनिएपछि प्रहरीले गोली चलाएको बताएका हुन्।
बैठकमा गृहमन्त्री श्रेष्ठले घटना हुनुमा इपिएस कार्यालयको लापरबाही, मन्त्रीको गाडी आन्दोलन भइरहेकै ठाउँबाट लैजाने पिएसओको निर्णय र सुरक्षाकर्मीको कमजोरी मुख्य कारण रहेको बताए।
गत शुक्रबार ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।
सरकारले उनीहरुका परिवारलाई १०/१० लाख दिने निर्णय यसअघि नै गरिसकेको छ।