काठमाडौं । नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिनमा कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो।
‘२०३३ पुस १६ मा बिपी राष्ट्र र राष्ट्रियताका लागि राजासँगै मिलेर काम गर्छु भनेर आउनु भयो । सोही दिन हामीले संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुंग्याउनका लागि दलहरुका बिचमा मेलमिलाप गर्ने उद्देश्य राखेका छौं ।’ कांग्रेस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले भने
आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम तय भएको छ। कार्यक्रममा वक्ताका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर रहेका छन् । कांग्रेसले कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनमत पार्टी लगायतलाई भने आमन्त्रण गरेको छैन ।