काठमाडौं । सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएका छन् ।
भोलि सोमबारबस्ने मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ । सो आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ ।
गत शुक्रबार इपिएस परीक्षा आवेदनसम्बन्धी विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई युवकको मृत्यु भएको थियो।
घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो। रावतको छातीमा डाम देखिएको थियो भने साहको गोली लागेर मृत्यु भएको थियो। मृतक परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने पनि निर्णय गरेको छ।
प्रदर्शनको क्रममा गोली चलाउन निर्देशन दिएको भन्दै गृह मन्त्रालयले फिल्ड कमान्डर रहेका डिएसपी उमेश लम्साललाई निलम्बन गरेको छ।