काठमाडौँ । नेपाल मुस्लिम संघको दोस्रो गण्डकी प्रदेश भेला शनिबार हुने भएको छ । नेपाली काँग्रेसको भातृ संगठनका रुपमा रहेको संघको दोस्रो प्रदेश भेला पोखरामा हुन लागेको हो ।
संघको गण्डकी प्रदेश समितिकाे आयोजनामा हुन लागेकाे भेलामा प्रदेशभर रहेका ११ जिल्लाका प्रतिनिधीहरुको सहभागिता रहने बताइएको छ ।
संघका प्रदेश समिति अध्यक्ष शाह मोहम्मद मियाँका अनुसार भेलाको उद्घाटन नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै कार्यक्रमलाई काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेपाल मुस्लिम संघका संस्थापक अध्यक्ष अब्दुल सत्तार, केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश जलस्रोत तथा उर्जामन्त्री सरस्वती तिवारी, पार्टीका प्रदेश सभापति शुक्रराज शर्मा, संघका केन्द्रिय अध्यक्ष अताबुल मन्सुरी लगायतले सम्बोधन गर्ने तय भएको अध्यक्ष मियाँले बताए ।
भेलाकै अवसरमा प्रदेशभित्रका कास्की, तनहुँ, गोरखा, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर लगायतका जिल्लाबाट गत बर्षको एसईई परिक्षामा उत्कृष्ठ अंकसहित उत्तिर्ण हुने मुस्लिम समुदायका विधार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।
त्यस्तै संघको महाधिवेशनबाट केन्द्रिय कार्यसमितिमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई समेत सम्मानको कार्यक्रम राखिएको अध्यक्ष मियाँले बताए । पाेखराकाे सृजनाचाेकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा हुने भेलामा करिब पाँच सय जनाकाे सहभागिता रहने उनकाे भनाई छ ।