काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले युवाहरुमा देशभक्तिको भावना मर्दै गएको बताएका छन्।
उनले ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा देशभित्रको राम्रो जागिर छोडी तल्लोस्तरको कामका लागि दु:खद बाटोबाट विदेश जानुले युवाहरुमा राष्ट्रिय भावना र देशभक्तिको भावना मर्दै गएको देखिएको बताए।
‘पढेलेखेका युवाहरु भएको जागिर छोडी दु:खद बाटोबाट विदेश जानु भनेको उनीहरुमा राष्ट्रिय भावना र देशभक्तिको भावना मर्दै जानु हो,’ उनले भने।
उनले युवाहरु देशमा रोजगारी नपाएका कारण भन्दा पनि धेरै कमाउने लोभमा विदेश पलायन भइरहेको बताए। ‘देशभित्र आवश्यक मात्रामा रोजगारी सिर्जना गर्न नसकिएको स्वीकार गर्छु। तर रोजगारी नपाएकैले युवाहरु विदेश गइरहेको भन्ने चाहिं सत्य होइन। कैयौं गाउँमा मासिक ७० हजारसम्मको तलब छोडेर शिक्षकहरु ५०/६० लाख तिरेर अमेरिका हिंडिरहेका छन्,’ उनले भने, ‘आफ्नो घरको खाना खाएर मासिक ७० हजार तलब भनेको नराम्रो हो र?’
उनले जतिसुकै चमत्कार गरे पनि नेपालमा अमेरिका र युरोपमा जस्तो मासिक १० लाख रुपैयाँ तलब दिन भने सम्भव नरहेको बताए।
कार्यक्रममा उनले प्रदेश र स्थानीय तहलाई अझ बलियो बनाउने भन्दै त्यसका लागि आफूलाई सहयोग चाहिने बताए। उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफूले गरेको सहयोगप्रति जस दिन आनाकानी गरेको भन्दै असन्तुष्टि पोखे। ‘फोहोर व्यवस्थापनदेखि सुकुम्बासी समस्या समाधानका लागि यसअघि कुनै प्रधानमन्त्रीले नगरेको पहलकदमी लिएको छु। महानगरलाई सधैं साथ दिएको छु। तर यो कुरा भन्न केले रोकेको छ?,’ उनले प्रश्न महानगरप्रमुख शाहसँग प्रश्न गरे।
प्रधानमन्त्रीले प्रश्न गरिरहँदा शाह भने आफ्नो भनाइ राखेर हिंडिसकेका थिए।