• शनिबार, साउन ९ २०८३

देशका सातै प्रदेशमा आज रास्वपाको वडा अधिवेशन


बिहिबार, मंसिर २८ २०८०
1.6K
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु हुँदैछ। रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो।

सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ हुने पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

‘निर्वानपछि एक वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ। औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ’, उनले भने, ‘सात प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ। हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ।’

रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ।

सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन्। पार्टीका महामन्त्री एवं प्रवक्ता डा.मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधिको रुपमा सहभागी हुँदैछन्।

‘जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौँ। यसलाई स्थानीय तहसम्म पु¥याउने मुख्य एजेण्डा हो’, प्रमुख सचेतक परियारले भने।

सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताए।

‘११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ। चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ । छ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।’ रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार