काठमाडौँ । काठमाडौँसहित विश्वका ८ ठुला सहरका प्रमुख (मेयर)हरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी २८ औं सम्मेलन (कोप–२८) चलिरहँदा स्वस्थ सहरका लागि साझेदारी (पार्टनरसिप फर हेल्दी सिटीज) को विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रतिबद्धता जनाउने सहरहरूमा काठमाडौँ महानगरपालिकासहित अमेरिकाको सिकागो, रोमानियाको बुखारेस्ट, ब्राजिलको फोर्टालिजा, इन्डोनेसियाको जकार्ता, बंगलादेशको ढाका, रवंदाको कीगाली र उगान्डाको काम्पला सहर छन् ।
प्रमुखहरुले जारी गरेको एक संयुक्त प्रतिबद्धता पत्रमा भनिएको छ, ‘जनसंख्याको आकार र चुनौतीहरूसँगको निकटताले, सहरहरुले परिवर्तनको उदाहरणीय नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका छन् । कोप २८ मा विश्व नेताहरू भेला भइरहँदा, हामी विश्वभरका सहरहरूलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रमहरू अपनाउन र आफ्ना नागरिकहरूको जीवन सुधार गर्न तथ्याङ्कमा आधारित सार्वजनिक स्वास्थ्य कार्य प्रवर्धन गर्न आह्वान गर्दछौँ ।’