काठमाडौँ । छ जनाकाे ज्यान जाने गरी भएकाे सोती घटना प्रकरणमा अदालतले २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।
तीन वर्ष अघि नवराज विक सहित ६ जनाको हत्या भएकाे मुद्धाकाे रुकुम पश्चिमका जिल्ला न्यायाधीश खड्गबहादुर केसीको इजलासले आज सुनुवाइ गर्दै मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको हाे ।
कर्तव्य ज्यान र जातीय छुवाछुतको मुद्दामाथिकाे सुनुवाइमा प्रतिवादी मध्येकी मृतक नवराज विककी प्रेमिका (भनिएकी), उनकी आमा र भाइ गरी ३ जनालाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय ठहर गरिएको छ । त्यस्तै संलग्न भनिएका ८ जनालाई भने अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले जानकारी दिइन् ।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४, का २१ वर्षीय नवराज वि क आफ्ना साथीहरू सहित प्रेमिकालाई भगाएर बिहे गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ काे सोती गाउँमा पुगेका थिए । दलित थरका विकले गैर दलित मल्ल थरकी भगाउन आएकाे थाहा पाइ स्थानियले आक्रमण गरेका थिए ।
आक्रमण पछि बेपत्ता ६ जनाको शव भेरी नदी किनारमा फेला परेकाे थियो । मृत्यु हुनेमा नवराज विक, टिकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार, सन्दीप विश्वकर्मा र गोविन्द शाही थिए ।
घटनाकाे नवराजका बुवा मुनलाल नेपालीले दिएकाे जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्धा चलेको थियाे । त्यसमध्ये ११ जना तारेखमा छुटेसकेका थिए भने २३ जना पुर्पक्षका लागि थुनामा पठाएकाे थियाे ।