• शनिबार, साउन ९ २०८३

प्रधानमन्त्रीको टोली यूएईमा, काेप २८ सम्मेलनबाहेक के-के छन् अरु कार्यक्रम ?


बिहिबार, मंसिर १४ २०८०
1.7K
Shares

काठमाडौं । कोप २८ सम्मेलनमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएई पुगेका छन् । २९ नोभेम्बर राती नेपाल एयरलाइन्सको विमान मार्फत प्रधानमन्त्री दाहाल यूएई पुगेका हुन् ।

नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म हुने सम्मेलनमा भाग लिन सम्मेलनमा प्रधानमन्त्री दाहालको नेतृत्वमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर र वन तथा वातावरणमन्त्री महतोलगायत विज्ञसहतिको उच्चस्तरीय टोली यूएई पुगेको हो । प्रधानमन्त्री दाहालले डिसेम्बर २ मा हुने ‘उच्चस्तरीय सत्र’मा सम्बोधन गर्ने कार्यक्रम छ । उनि ३ डिसेम्बरका दिन नेपाल फर्कने कार्यक्रम छ ।

के छन् प्रधानमन्त्रीका कार्यक्रमहरु ?

दुबईमा प्रधानमन्त्रीको बसोबास ‘राफेल्स दुबई वाफी होटल’मा हुने कार्यक्रम छ । बिहीबार बिहान पौने १० बजे उनले कोप–२८ का अध्यक्ष डा. सुल्तान विन अहमद अब जावेसँग भेटघाट गरेका छन् ।

दिउँसो १२ बजे नेपाली राजदूतावासमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा सहभागी भएका छन् । त्यसपछि उनी सेराटन होटलमा नेपाली समुदायको कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन् ।

दुबईमा प्रधानमन्त्री दाहालले त्यहाँको विशाल मस्जिद (ग्य्राण्ड मस्क) भ्रमण गर्ने कार्यक्रम पनि तय भएको छ । अपरान्ह ३ बजे मस्जिद पुगेर प्रधानमन्त्रीले २० मिनेट मस्जिद भ्रमण तथा अवलोकन गर्नेछन् । साँझ ७.३० बजे राफेल्स होटलको बालरुपमा नेपाल च्याम्बर्स अफ कमर्सको दुबई शाखाले आयोजना गरेको कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन् ।

शुक्रबार (१५ मंसिर) बिहान साढे ९ बजे यूएईका राष्ट्रपति मोहम्मद विन जायेद अल नाह्यानसँग प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्नेछन् । राष्ट्रपति नाह्यान र प्रधानमन्त्री प्रचण्डको भेटवार्ता २० मिनेट हुने तय भएको छ ।

त्यसपछि उनले कोप–२८ सम्मेलनस्थलमा राखिएको नेपाली पेभिलियन अवलोकन गर्नेछन् भने ११ः४० मा विश्व वातावरण सम्मेलनमा सहभागी हुनेछन् । साढे १ बजे ‘ट्रान्सफर्मिङ फुड सिस्टम इन द फेस अफ क्लाइमेट चेन्ज’ कार्यक्रममा सहभागिता जनाउनेछन् ।

सम्मेलनस्थलमै उनले यूएईका उपराष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । यी दुई भेटघाट शुक्रबार दिउँसो २ बजेको आसपास हुनेछन् । त्यसै दिन ४ः४० मा ‘वातावरण अनुकूलनसम्बन्धी सम्मेलन’ मा सहभागी हुने उनी साँझ ६ः४५ बजे ‘जायेद दिगोपन पुरस्कार वितरण’ कार्यक्रममा सहभागी हुने योजना बनेको छ । त्यसअघि २ः४५ मा ‘क्लाइमेट फाइनान्स’सम्बन्धी अर्काे बैैठकमा पनि उनी सहभागी हुनेछन् ।

शनिबार (१६ मंसिर) मा सम्मेलनस्थलको ‘साइडलाइन’ का रूपमा प्रधानमन्त्री प्रचण्डले पर्वतीय मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरूको राउण्ड टेबल बैठक आयोजना गरेका छन् । सो बैठकमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेस पनि सहभागी हुने तय भइसकेको छ ।

कार्यक्रमका लागि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि निम्तो दिएका छन् । तर, मोदी सहभागी हुने–नहुने टुङ्गो छैन । मध्य–एसियाली मुलुक किर्गिस्तानका राष्ट्रपति सादर जापारोभ बैठकमा सहभागी हुने प्रबल सम्भावना छ । नेपालद्वारा आयोजित राउण्ड टेबल बैठक सकिएपछि कोप–२८ अन्तर्गतकै अर्काे कार्यक्रममा उनी सहभागी हुनेछन्।

शनिबार साँझ ५ बजे कोप–२८ को समापन कार्यक्रम हुनेछ, जहाँ प्रधानमन्त्री प्रचण्ड पनि उपस्थित हुनेछन् । शनिबार साँझ नै कोप–२८ को आयोजक राष्ट्र यूएईले राष्ट्रिय दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम आयोजना गरेको छ, जहाँ कोप–२८ मा सहभागी प्रतिनिधिमण्डलका प्रमुखहरू उपस्थित हुनेछन्। प्रधानमन्त्री प्रचण्ड त्यसमा सहभागी हुनेछन्।

आइतबार (१७ मंसिर) मा प्रधानमन्त्री नेपाल फर्कनेछन् । तर, नेपाल फर्कनुअघि दुई कार्यक्रम तय भएका छन् । तिनमा एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु आसाकावाले प्रधानमन्त्री प्रचण्डसँग गर्ने भेटघाट र ‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ सम्बन्धी कार्यक्रम छन् ।

‘हिन्दुकुश हिमालय क्लाइमेट रिस्क म्यानेजमेन्ट इनिसिएटिभ्स’ मा प्रधानमन्त्रीले सम्बोधन गर्ने योजना छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार