• शनिबार, साउन ९ २०८३

एमाले निकट युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा उच्च सुरक्षा सतर्कता


बिहिबार, मंसिर ७ २०८०
1.2K
Shares

काठमाडौँ । आज हुन लागेका दुई समुहको छुट्टाछुट्टै विरोध प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि काठमाडौँमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

नेकपा एमालेको भात्री संस्था युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौं केन्द्रीत गर्न लागेको प्रदर्शनलाई लक्षित गरेर सरकारले सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

नेकपा एमाले निकट युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ भने प्रसाईं नेतृत्वको महाअभियानले बल्खुमा प्रदर्शन गर्दैछ ।

प्रदर्शनको सुरक्षाका लागि उपत्यकामा ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी एकीकृत सुरक्षा योजना बनाइएको छ ।

सरकारले उच्च सुरक्षा सतर्कता अपनाउदै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई खटाइनुका साथै ड्रोनबाट समेत निगरानी राख्ने तयारी गरेको छ ।

बिहानैदेखि काठमाडौंका चोक–चोकमा हतियार सहितका सुरक्षाकर्मीहरु देख्न सकिन्थ्यो भने प्रदर्शनस्थल वरपर सादा पोशाकमा सुरक्षाकर्मी खटिएका छन् ।

दुई समुहको प्रदर्शनस्थल फरक फरक भएपनि विभिन्न स्थानबाट जुलुस निस्कने भएकोले दुइतर्फको जुलुसमा मुटभेड हुनसक्ने भन्दै उच्च सतर्कता र सुक्ष्म निगरानी राखिएको छ ।

सरकारले यस अघिनै सुरक्षा सतर्कताका लागि सम्बेदनशिल स्थानहरु बानेश्वर, माइतीघर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास, पुल्चोकस्थित मन्त्री निवास र संयुक्त राष्ट्रसंघको कार्यालय वरपरको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिसकेको छ ।

प्रदर्शनको कारण आज उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित बनेको छ । अत्यावश्यक बाहेक सवारी साधन लिएर ननिस्कन प्रहरीले सूचना जारी गरेपछि सडकमा सवारी कम गुडेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार