गोरखा । कोरोनाका कारण देशको अर्थतन्त्र धरासयी बन्दै गएको पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बताएका छन् । कोरोना भाइरसको महामारीले मुलुकको अर्थतन्त्र थप संकटतर्फ धकेलेको भट्टराईले बताए ।
सोमबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै भट्टराईले प्रधानमन्त्रीको अहंकार र घमण्डले देश अफ्टेरो परिस्थितीमा धकेलिएको आरोप लगाए । ‘आफू पनि नजान्ने अरूले भनेको पनि नमान्ने प्रधानमन्त्रीको अहंकारी स्वभावका कारण देश संकटतिर जादै छ’ भट्टराईले भने ।
त्यस्तै उनले आर्थिक ब्यवस्थापनमा अर्थमन्त्रीको कमजोरीका कारण देशको अर्थतन्त्र जटिल अवस्थामा पुगेको बताएका छन् । अर्थमन्त्री युवराज खतिवडाले सरकारलाई चालु खर्च धान्न कठिन भएको बताएको भोलिपल्ट पूर्वअर्थमन्त्रीसमेत रहेका भट्टराईले उक्त टिप्पणी गरेका हुन् ।
यस्तै भट्टराईले सीमाबारे नेपाल–भारत वार्ताका लागि सहजीकरण गर्न आफू तयार रहेको पनि बताए। कुटनीतिक तवरले वार्तारसंवादबाटै सीमा समस्या हल गर्नुपर्ने भन्दै उनले सहजीकरण गर्न आफूले सक्ने बताएका हुन् ।
त्यस्तै भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ मा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । आइतबार भट्टराईले सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
यसैगरी भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा संसद विकास कोष मार्फत सञ्चालन भइरहेका बिभिन्न निर्माण आयोजनाहरुको अनुगमन समेत गरेका छन् ।