काठमाण्डौं । बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न एक युवतीसहित तीन नेपाली र तीन भारतीयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनामा अन्य थप दुई जनाको पनि संलग्नता हुनसक्ने प्रहरीको अनुमान छ । अहिले १० जनालाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित स्वर्णकारको गोली हानी हत्या गरेका थिए।
हिजो सोमवार दिउँसो मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले ३५ वर्षका स्वर्णकारमाथि गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जको बयोधा अस्पतालमा मृत्यु गएको थियो ।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
यसअघि गएको साउन २८ गते कलैयाको एक होटलमा स्वर्णकारको हत्याको प्रयास गरिए पनि त्यति बेला उनि बच्न सफल भएका थिए ।
सोमवार दिउँसो मृत्यु भएका स्वर्णकारको मंगलवार हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । उनकाे स्थानिय पसाहा खोलमा अन्तिम संस्कार गरिएको हाे । उनका २ छोरा, श्रीमती छन् ।