काठमाण्डाै । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी पुगेका छन् ।
मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेर विशेष विमानबाट गुटेरेस भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै हेलिकप्टरबाट लुम्बिनी पुगेका हुन् ।
महासचिव गुटेरेसको स्वागतको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पुगेका थिए ।
लुम्बिनी भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गरेका छन् ।
महासचिव गुटेरेस डेढ घण्टा लुम्बिनीमा रहने जनाइएको छ । गुटेरेसले शान्ति दीप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गर्ने कार्यक्रम छ ।
लुम्बीनीमा स्थानीय आमा समूह, लुम्बिनीस्थित विभिन्न भिक्षु भिक्षुणीले स्थानीय कला संस्कृति सहित स्वागत गर्ने कार्यक्रम छ।
गुटेरेसले लुम्बिनीको अवलोकनपछि शान्तिको सन्देश सहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।
यसअघि सन् २००८ नोभेम्बरमा वान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनीको भ्रमण गरेका थिए।
गुटेरेस राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनी भ्रमणमा आउने छैटौं महासचिव हुन्।