इजरायल र हमास समूहबीच युद्ध भएको १९ दिन पुगिसकेको छ। युद्धमा परी ७ हजार बढी मानिसको मृत्यु भइसकेको छ।
हमासले इजरायलमा गरेको अप्रत्यासित आक्रमण पश्चात इजरायल आक्रमक बन्दा गाजा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ। हमासको आक्रमणमा परेर इजरायलमा १ हजार ४०० बढीको मृत्यु हुँदा प्यालेस्टाइनको गाजा क्षेत्रमा ५ हजार ७०० भन्दा बढी र वेस्ट बैंकमा करिब १०० जनाको मृत्यु भइसकेको छ।
इजरायलले हमासलाई सकाउने भन्दै गाजा क्षेत्रमा आक्रमण जारी राखेको छ। नाकाबन्दी गरेर गाजामा पानीदेखि खाद्यान्न रोकिएको छ। जसकारण प्यालेस्टाइनी नागरिकहरु सबैभन्दा धेरै प्रभावित भएका छन्।
युद्ध लम्बिँदै जाँदा गाजा क्षेत्रमा भौतिक र मानवीय क्षति पनि बढ्दो छ। अन्तर्राष्ट्रिय समुदायले इजरायललाई सर्वसाधारणलक्षित आक्रमण नगर्न आग्रह गरिरहेको छ। यद्यपि, हमासको नाममा सर्वसाधारणको ज्यान गइरहेको अलजजिराले उल्लेख गरेको छ।
यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले इजरायल र हमास समूहबीचको युद्धमा अन्तर्राष्ट्रिय कानुन उल्लंघन भएको बताएका छन्। उनले तत्काल गाजामा युद्धविराम गर्न आह्वान पनि गरेका छन्।
मंगलबार १५ सदस्यीय सुरक्षा परिषदमा सम्बोधन गर्दै गुटेरसलले हमासको आक्रमण ‘भ्याकुम’का कारण नभएको भन्दै प्यालेस्टाइनी नागरिकहरुले ५६ वर्षदेखि अस्तित्वको लडाइँ लडिरहेको बताएका थिए। हमासको आक्रमणलाई निन्दा गर्नुपर्ने भन्दै उनले त्यसको जवाफमा प्यालेस्टाइनी नागरिकलाई निशाना बनाउन नहुने उनले बताएका थिए।
इजरायलको नाम नलिइ गुटेरसले नागरिकलाई सुरक्षित बनाउने नाममा १० लाख मानिसलाई गाजाको दक्षिण क्षेत्रमा सर्न निर्देशन दिने निर्णयमाथि प्रश्न उठाए। उनले इजरायलमा भएको हमासको आक्रमणको आलोचना गर्दै बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने माग गरेका छन्।
गुटेरसको भनाइको इजरायलले भने आलोचना गरेको छ।
इजरायलको नाकाबन्दी र आक्रमणले गाजामा खाद्यान्न, पानी, बिजुली र औषधिको चरम अभाव भइरहेको छ।