काठमाडौं । औषधि व्यवासायी प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महाबाणिज्य दूतमा नियुक्त भएका छन् । परराष्ट्रमन्त्री एनपी साउदले सोमबार पाण्डेलाई प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन्।
नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष समेत रहेका पाण्डे अग्रणी औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्सका कार्यकारी निर्देशक समेत हुन् ।
लोमसले पछिल्ला वर्षहरुमा अफ्रिकन देशहरुमा औषधिका निर्यात थालेको छ । महावाणिज्य दूत नियुक्त भएपछि पाण्डेले इमानदारितापूर्वक राष्ट्रको हितमा काम गर्न आफु प्रतिवद्ध रहेको बताए ।
रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन आफुले काम गर्ने पाण्डेले बताए । दुई द्विपक्षीय व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलाई आदन प्रदान गर्न आफुले भुमिका खेल्ने उनको भनाइ छ ।
परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको बताए ।