काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का युवा संयोजक अब्दुल बासिदले आगामी कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि कतारलाई कर्मथलो बनाउँदै आएका बासिद नेपाल, कतार र बेलायतमा व्यवसाय सञ्चालन गर्दै आएका छन् । ‘एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्षमा तपाईंहरुले मलाई निर्वाचित गर्नुभयो भने स्वदेशमै युवाहरुलाई रोजगारी सिर्जना गर्न निरन्तर खटेर काम गर्नेछु,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कर्मथलो विदेश भए पनि मातृभूमि नेपालमा लगानी गरेर धेरैभन्दा धेरै नेपालीलाई रोजगारी दिने विश्वास दिलाउन चाहन्छु । विदेशमा व्यवसाय गरिरहेका साथीहरुलाई स्वदेशमा लगानी गर्न पनि म अपिल गर्न चाहन्छु ।’
विगतमा आफूले एनआरएनए कतार र एनआरएनए आईसीसीलगायत विभिन्न संघसंस्थामा रहेर बटुलेको अनुभबलाई आगामी कार्यकालमा अझ उपयोग गर्न चाहेको उनले बताएका छन् । युवा पुस्ताका मुद्दा स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न र विदेशमा बस्ने श्रमिकका आवाजलाई सशक्त रुपमा उठाउन आफू समर्पित हुने पनि उनको प्रतिबद्धता छ ।