काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका नेपालीहरूकाे उद्धार र स्वदेश फिर्ता गर्ने विषयमा छलफल तथा निर्णय गर्न मन्त्रिपरिषदको विशेष बैठक बाेलाएका छन् ।
सोमबार दिउसाे ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्रीले अपह्रान्ह ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक डाकेका छन् ।
बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
शनिबार बिहान इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।