काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत हनान गोडर बिच इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल भएको छ ।
आइतबार मन्त्रालयमा भएको भेटमा इजरायलको पछिल्लो अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे कुराकानी भएको जनाइएको छ ।
राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएका छन् ।
उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सद्भाव र सहानुभूतिप्रति सरकारलाई धन्यवाद समेत दिएका छन् ।
यसैबीच परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा भएको आक्रमण सम्बन्धमा संसदमा जानकारी गराउने भएका छन् ।
आइतबार दिउँसो १ बजे बोलाइएको संसदको बैठकमा परराष्ट्रमन्त्री साउदले सम्बोधन गर्ने भएका हुन् ।
हालसम्म आक्रमणमा ९ जना नेपाली घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
इजरायलमा आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या २५० पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।