पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पोखराको अमरसिंह चौरमा अधिवेशनको उद्घाटन गर्दैछन् ।
एमाले गण्डकी अधिवेशनमा प्रभावशाली नेताहरू उपमहासचिव समेत रहेका नेता पृथ्वीसुव्वा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने आँकलन स्थानीय नेता कार्यकर्ताले गरेका छन् ।
अन्य प्रदेशमा जस्तै गण्डकीमा पनि नेतृत्वले अधिवेशनमा प्यानल नबनाई चुनाव लड्न निर्देशन दिएको भए पनि गुरुङ र अधिकारीको नाममा नेताहरू प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
एमाले गण्डकीमा उपमहासचिव गुरुङले हाल प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई नै अघि सार्ने तयारी गरेका छन् । अधिकारी पक्षले भने केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रदेश अध्यक्ष र रश्मी आचार्यलाई सचिवमा उम्मेदवार बनाउने तयारी गरेको अधिकारी निकटस्थहरूको भनाइ छ । तर अधिकारीले सर्वसम्मत अध्यक्ष चयनको प्रयास सफल भए केन्द्रीय सदस्य कृष्ण थापाका नाममा सहमति जुटाउने गृहकार्य समेत गरिरहेको बुझिएको छ ।
शर्मा, अधिकारी र थापाबाहेक पनि एमाले गण्डकीको अध्यक्षमा रामशरण बस्नेत, राजीव पहारी, हालका प्रदेश उपाध्यक्ष मोहन रेग्मी, हिराबहादुर केसीले समेत अध्यक्षमा आकांक्षा राखेको बताइएको छ ।