काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरोनाको महामारी खर्च भएको रकमको हिसाब माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कोरोनाको महामारी रोक्न भनेर सरकारले खर्च गरेको १० अर्बको एक–एक रुपैयाँको हिसाब खोज्ने बताए।
‘१० अर्ब खर्च कहाँ भयो? हामीलाई यसको हिसाव चाहिन्छ’, थापाले भने, ‘पाँच वटा पीसीआर मेसिन, २५ हजार कीट किनेर दश अरब रुपैयाँ हिसाब देखाउनु पर्दैन? हामीलाई एक एक रुपैयाँको हिसाब चाहिन्छ।’
उनले राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा चुर्लुम्ब लिप्त हुन भनेको निर्लज्जताको पारकाष्टा भएको बताए।
उनले पछिल्लो समय क्वारेन्टिन मान्छे मार्ने थलोको रुपमा देखिएको बताए। प्रधानमन्त्रीले क्वारेन्टिनमा १ लाख ६६ हजार मान्छे बस्न सक्छन् भनेको उल्लेख गर्दै उनले भने, ‘क्वारेन्टिनमा एक लाख ६६ हजार बस्छन भनेर प्रधानमन्त्री आरामले भनिरहनु भएको छ। मान्छे मार्ने कन्सेन्ट्रेसन क्याम्प हो ?’
उनले परीक्षणको दायरा साँधुरो बनाउनभन्दा परीक्षण नै बन्द गरे एक जना पनि संक्रमित नदेखिने भन्दै सरकारमाथि व्यंग्य गरे।